रामेछापको मन्थली नगरपालिकामा राष्ट्रिय गैर सरकारी संस्था महासंघले  एक दिने झोल साबुन बनाउने उद्यमशीलता तालिम प्रदान गरेको छ । मन्थलीका सबै वडा निवासी ७३ जना महिलालाई महासंघले पुष २५ गते (शनिवार) उद्यमशीलता तालिम अन्तर्गत गाउँघरकै सामाग्री प्रयोग गरेर साबुन बनाउने तालिम दिएको हो । 
विकट वडाका महिलालाई सशक्तीकरण गर्ने, आर्थिक रूपले सबल बनाउने उदेश्यले उक्त तालिम प्रदान गरिएको महांसघका महासचिव कैलाश न्यौपानेले बताए । ‘गाउँका महिलाहरूलाई स्थानीय कच्चापदार्थ प्रयोग गरी विभिन्न सिपहरू सिकाउन सके यही ठाउँमा उनीहरूलाई उद्यमी र आत्मनिर्भर बनाउन सकिन्छ, न्यौपाने भन्छन्, ‘सोही कारण पनि महासंघले देशका विभिन्न जिल्लाहरूमा यस्ता तालिम सञ्चालन गर्ने योजना बनाएको हो ।’
साथै कार्यक्रमको प्रशिक्षण गरेकी कल्पना श्री योगीले पनि महिलाहरूलाई आफूले सिकाएको कुरा व्यवहारमा उतारी व्यवसायीकरण गरेमा सिकाउन अझ मनोबल बढ्ने जनाइन् । उनले महांसघलाई यस्ता सिपमूलक कार्यक्रमहरू देशका ७७ ओटै जिल्लामा सञ्चालन गर्न समेत सुझाएकी छिन् । 
सोही कार्यक्रममा उपस्थित एक महिलाले पनि गाउँघरमै आएर यस्ता ज्ञानवर्धक तालिम दिँदा गाउँका दिदी बहिनीमा ‘केही गर्न सक्छु’ भन्ने आँट आउने गरेको बताइन् । उनले, ‘अब साबुन बनाएर बेची नाफा कमाउनेतर्फ आफ्नो ध्यान जाने बताइन् ।’ यसका साथै अन्य सहभागीहरू पनि कार्यक्रम एक दिनको मात्रै भए पनि सिपमूलक र दैनिक जीवनमा प्रयोग गर्न सकिने भएकाले उत्साहित देखिएका थिए । उनीहरूले यस्ता कार्यक्रमहरू अझै गर्नुपर्ने माग समेत महासंघसंग राखेका छन् । 
त्यस्तै महासंघकी अध्यक्ष कुन्ती पोखरेल पनि यस्ता महिला विकासका कार्यक्रमहरूले उनीहरूको नेतृत्व क्षमता वृद्धि हुने विश्वास राख्छिन् ।  सरकारले देश विकासका कुराहरू बिर्सिएर राजनीतिक किचलोमा लागेको बताउँदै अध्यक्ष पोखरेल भन्छिन्, ‘महिलालाई व्यावसायिक रूपमा सक्षम बनाउन देशभरिका गैरसरकारी संस्थाहरूलाई समावेश गरेर विकाशका कार्यक्रमहरू सञ्चालन गर्ने योजना महासंघको रहेको छ ।’
विभिन्न गैरसरकारी संस्थाहरूले सहयोगको नाममा विकट जिल्लाहरूका मानिसलाई ललाई फकाई धर्म प्रचारका काम समेत गरेको हुनाले त्यस्ता कामलाई निरुत्साहन गर्न समेत महासंघ अग्रसर भएको अध्यक्ष पोखरेल बताउँछिन् । 
साथै उनले गैरसरकारी संस्थाहरूले  सकारात्मक काम पनि गर्ने गरेको र देश विकासमा यस्ता क्षेत्रहरूले पुर्‍याएका योगदानका सम्बन्धमा जनतालाई सचेतना दिने आफ्नो योजना रहेको सुनाइन् ।